Breaking

जसपाको नयाँ नीति, शीर्ष नेतामा अविश्वास नै अविश्वास


काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले नयाँ नीति लिएको छ । पार्टीका शीर्षस्थ नेताहरु बीच एक अर्का प्रति विश्वास गर्ने अवस्था नरहेको भन्दै जसपाको कुनै पनि निर्णय भएपछि तीन शीर्षस्थ नेताले हस्ताक्षर गर्नु पर्ने भएको हो ।

अब पार्टीको नयाँ नीति अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलको हस्ताक्षरविना पार्टीको कुनै पनि निर्णय सार्वजनिक गर्न पाउने छैन ।

पछिल्लो समय पार्टीका अध्यक्ष यादवले भएका निर्णयहरू लुकाउने र नभएका निर्णयहरू सार्वजनिक गरिदिने जस्ता काम गरेको आरोप भट्टराई पक्षका नेताहरूले लगाएका छन् । माइन्युट बुक हेर्दा जथाभाबी निर्णयहरू भएको, त्यसमा उपस्थिति मात्र देखाइएको तर हस्ताक्षर नभएका निर्णयहरू पनि त्यसमा उल्लेख भएको, अध्यक्षको मात्र हस्ताक्षर देखिएको कारण आशंका उब्जिएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

हाल पार्टीका दुईटै पक्षले छुट्टा छुट्टै छलफलहरू डाकिरहेका छन् । पार्टीका नेताहरु बीच अविश्वास बढ्दै जाँदा कार्यकारिणी समितिको बैठकसमेत अनिश्चितकालका लागि स्थगित भएको छ । जसपामा तीन नेतामा सहमति भएपछि मात्र कार्यकारिणी समितिको बैठक बोलाउने प्रावधान रहेको छ ।