राजनीति

जनताको ढाड सेक्दै आयल निगम, कर्मचारीलाई उपचार खर्च देखि लुगा धुने सम्म


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निगमका कर्मचारीहरुले यातायात भत्तादेखि पोशाक संरक्षण भत्ता लुगा धुने खर्च, पेट्रोलियम जोखिम भत्ता, घर रंगरोगन खर्च, खाजा खर्च, औषधि उपचार खर्चलगायतका विभिन्न शीर्षकमा भत्ता पाउँदै आएको भेटिएको हो । हाल आयल निगमका ५ सय कर्मचारीहरुले पाउँदै आएको पोशाकको सफाइ भत्ता भने कटौती गरिएको छ । कर्मचारीले दैनिक १५ रुपैंया भत्ता पाउँदै आएका थिए ।

पोशाक संरक्षण भत्तातर्फ मात्र वार्षिक ५० लाख खर्च हुने बताइएको छ ।तर, निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले निगमका ५ सय हाराहारी स्थायी कर्मचारीहरुले पाउँदै आएको पोशाक संरक्षण भत्ता कटौती गरेको छ । निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको आयल निगमले जनाएको छ । नेपाल आयल निगमका कर्मचारीहरुले अनेकन सेवा सुविधा र भत्ता लिने गरेका छन् । पेट्रोलियम पदार्थको भाउ बढाएर जनताको ढाड सेक्दा पनि अझैँ पनि निगम घाटामा छ भन्दै मूल्यवृद्धि गर्ने निगमभित्र भने जनताबाट उठेको रकमले भत्तैभत्ता पचाउने काम भईरहेको छ ।