Breaking

सत्तारुढ दल चुनावसँग डराएकाे नेम्वाङको आरोप, चुच्चे नक्सा गायब बनाएमा आक्रोश


काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाउनु भएको छ ।

संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेलखेलिरहेको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपालहरूप्रति संकेत गर्दै उहाँले ‘केही साथीहरू निर्वाचन भनेपछि किन डराउँछन् ?’ भनी प्रश्न गर्नु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले ठूलो चुनौति मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफ्ैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्वाङले आक्रोश व्यक्त गर्नु भयो । नेपाली जनताको निम्ति नेपालको भूमि समेटेर आफ्नो पार्टी नेतृत्वको सरकारले बनाएको सो चुच्चे नक्सा प्रिय भएको तर वर्तमान सरकारले गायब बनाउने गरेको उहाँको भनाई थियो ।