Breaking

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ


काठमाडौँ — राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा थोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरूलाई शपथ दिलाएका हुन् ।

गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का पाँच पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक एकजना निर्वाचित भएका थिए ।

कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेतले शपथ लिए । त्यस्तै‚ माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले शपथ लिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाहले शपथ लिए । जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथ लिएका हुन् ।

राष्टपतिबाट मनोनीत एक सांसदकोको नाम टुंगिन बाँकी छ । शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु भएको छ । चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भएका छन् ।

बिदा हुनेमा एमालेबाट पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेल, कांग्रेसबाट राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्ट रहेका छन् ।

यस्तै, माओवादी केन्द्रबाट दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा, एकीकृत समाजवादीबाट उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवर र मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सकिएको छ ।