Breaking

एमसीसीका कारण माओवादीमा बबण्डर, प्रचण्डमाथि खनिए नारायणकाजी


काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले एमसीसी पार्टी महाधिवेशनको निर्णय अनुसार नै संसदबाट पारित भएको दाबी गरेका छन् । पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उनीहरुको दाबी छ ।

शुक्रबार पार्टीको केन्द्रिय समितिको बैठकअघि सञ्चारकर्मीहरुसँग बोल्दै नेताहरुले एमसीसी पार्टीको आठौँ महाधिवेशनले निर्देशन दिए बमोजिम नै संसदबाट पारित भएको बताएको दाबी गरेका छन् । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पास गर्नु उचित भएको बताए ।

उनले नेपालीहरुले अमेरिकालाई साम्राज्यवाद र भारतलाई बिस्तारवादी देख्ने कोण बदलेर अघि बढ्नुुपर्ने बताए । केन्द्रिय सदस्य क्षेत्रीले पदाधिकारीको बारेमा पार्टीमा ठूलो झमेला नरहेको पनि स्पष्ट पारे ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य नारायण दाहालले महाधिवेशनमा एमसीसी पास नै गर्नुहुँदैन नभनेको स्पष्ट पारे ।

उनले संशोधनपछि एमसीसी पास गर्नसक्ने कुरा महाधिवेनले निर्णय गरेको र सोही अनुसार नै एमसीसी पास भएको दाबी गरे । केन्द्रिय सदस्य दाहालले शुरुमा आएको एमसीसीको ठोस र मूर्त रुप अहिलेको व्याख्यात्मक घोषणाले संशोधन गरेर दिएको बताए ।

उनले व्याख्यात्मक घोषणाबाट पास गरिएको एमसीसीलाई अमेरिकाले स्वीकारे मानो खोज्दा पाथी फेला पर्ने टिप्पणी गरे । पदाधिकारीको विषयमा भने जतिसक्दो चाँडो टुंगो लगाउन आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै केन्द्रिय सदस्य कुमार पौडेलले व्याख्यात्मक घोषणासहित सदनबाट पास भएको एमसीसी पार्टीको मूल्य र मान्यता बमोजिम रहेको बताए । उनले पार्टी एकता र गठबन्धनको रक्षा गर्नको लागि पनि एमसीसी पारित गर्नु व्यवहारिक भएको उल्लेख गरे । केन्द्रिय सदस्य पौडेलले व्याख्यात्मक घोषणासहित पास भएको एमसीसीले देशलाई अध्यारोमा जानबाट रोकेको बताए ।

त्यस्तै अर्का केन्द्रिय सदस्य लेखनाथ दाहालले १२ बुँदे व्याख्यात्मक घोषणा परिमार्जनकै अर्को रुप भएको बताए । उनले व्याख्यात्मक घोषणासहितको पासले केही समस्या समाधान गरेको भन्दै राष्ट्रहित विपरितका मुद्दाहरु संशोधन गरेर नै व्याख्यात्मक घोषणा पास गरिएको बताउनु भयो ।