प्रवास

रूसी आक्रमण नौ दिन सम्म कसरी थेगिरहेको छ युक्रेनी सेनाले ?


काठमाडौँ- छिमेकी युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नौ दिन पुगेको छ । यी नौ दिनमा रूसी सेनाले एउटा शहर कब्जा गरेका छन् भने राजधानी किएभ घेरेका छन् । बुधबार रूसी रक्षा मन्त्रालयले आफ्ना ४९८ जना सैनिक मारिएको स्वीकारेको थियो । युक्रेनले भने रूसका ७ हजार बढी सैनिक मारिएको दाबी गरेको छ । विश्वकै शक्तिशालीमध्येको रूसी सेनाको आक्रमण तुलनात्मक रूपमा कमजोर युक्रेनी सेनाले जसरी थेगिरहेको छ त्यसले यो क्षेत्रका विश्लेषकलाई पनि अचम्ममा पारेको छ ।

केही दिनअघि दक्षिण युक्रेनमा रूसी सैनिक सहरमा पस्न नसकून् भनेर एक जना युक्रेनी सैनिकले आफैं पुलमा बसेर बिस्फोट गरेका थिए । रूसी सैनिकलाई रोक्न युक्रेनी सेनाले गोलीचलाउने बाहेक अरू धेरै उपाय लगाएको छ । प्रतिभाशाली साइबरयुद्धमा कुशल युक्रेनीहरूले देशभित्र र बाहिरी संसारबाट समर्थन जुटाउने सामग्री प्रसारणमा मस्कोलाई समेत पछि पारेका छन् ।

राजधानी किएभलाई लक्षित गरेर आएको ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्करलाई युक्रेनी सेनाले किएभबाट २५ किलोमिटर पर रोकेका छन् । लावालस्करमा अघि रहेका गाडीमा उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टिट्यांक मिसाइल प्रयोग गरेर आक्रमण गरेका छन् ।