Breaking

आजदेखि मतदाता नामावलीमा दाबी विरोध आव्हान


काठमाडौँ — निर्वाचन आयोगले आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि आजदेखि मतदाता नामावलीमाथि दाबी–विरोधको आव्हान गरेको छ ।

नामावली अद्यावधिक कार्यक्रम अन्तरगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको हो । आयोगले स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोधसमेत गर्न पाउने जानकारी दिए ।

अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।

आयोगले मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने कार्यक्रम उक्त समयभित्र सञ्चालन गर्नेछन् ।

७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी–विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।