Breaking

ओली–नेपालको ‘शब्द युद्ध’


काठमाडौँ – राजनीतिक दलका नेताहरुबीच मुद्धामा मतान्तर भएर बहस हुनु राजनीतिक संस्कार हो । तर राजनीतिलाई हतियार बनाएर व्यक्तिगत गालीगलौजमै उत्रिएका नेताहरुले सम्मानित क्षेत्रलाई दुर्गन्धित बनाएका छन् । पछिल्लो समय यसको अग्रभागमा एमाले अध्यक्ष र ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपाल रहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजित हुँदै नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपालबीच यतिबेला युद्धकै अवस्था छ । एकले अर्काेलाई कुनैपनि तरिकाबाट पछार्न, कमजोर पार्न, लज्जित बनाउन र आफ्नो पक्षमा माहोल तताउन कही केही छोडेका छैनन् ।

एमसीसी अनुमोदनपछि औपचारिक धारणा राख्न दुवैले पत्रकार सम्मेलनको आयोजना गरे । तर विषय ३६० डिग्रीकै शैलीमा परिवर्तन गर्दै एकले अर्काेलाई राजनीतिक अपराधी करार गर्न सामान्य संस्कारको पनि ख्याल राखेनन् ।

नेपालले ओलीलाई कम्युनिष्ट हुन लायकै नभएको मात्रै बताएनन्, राष्ट्रघाती नै भएको आरोप लगाए । ओलीले सात दिन उठ्नै नसक्ने गरि पछार्ने बताए ।

उस्तै खाले अभिव्यक्ति केही दिन अघि दुवै नेताले दिएका थिए । अध्यक्ष नेपालले ओली सत्तामा आए नेपालै सिध्याइदिन्छन् भने पछि ओली त्यसको जवाफ फर्काउँदै नेपाल त नेपाल कुनचाहीँ व्यक्ति नेपाल सकिन्छ भनेका थिए ।

ओली र नेपाल एकअर्कामाथि खनिएको यो पहिलो पटक भने होइन । यी दुवैको व्यक्तिगत आकांक्षा पुरा नभएपछि एमाले विभाजन भयो ।

पार्टी विभाजनपछि दुई किनारमा पुगेका साइनो नै टुक्र्याएका उनीहरु अहिले व्यक्तिगत तहमै उत्रिएका छन् । राजनीतिक संस्कार भुलेरै हरेक मञ्चमा एकअर्काको आलोचना गर्नु उनीहरुको दैनिकी बनेको छ ।

नेताहरूमा राजनीतिक मतान्तर र मुद्धाहरुमा विमति देखिनु स्वाभाविक हो । तर त्यो तह पनि पार गर्दै ओली र नेपालबीचको विवाद व्यक्तिगत स्तरमै पुगेको छ । अहिले व्यक्तिगत रूपमा पनि दुवैबीचमा कुनै सम्बन्ध छैन । नेपाल सहभागि बैठक र भेलालाई ओलीले बहिष्कार गर्दै आएका छन् ।

राजनीति आफैँमा सम्मानित क्षेत्र हो । तर राजनीतिज्ञबाटै सम्मानित क्षेत्रलाई अपमानित गर्ने काम भइरहेको छ । जसले उनीहरुबाटै चलेको देशको हैसियत के हुन्छ प्रश्न अहम् बनेको छ । झन् कम्युनिष्टहरु त देख्दै लाज हुनेगरि नाङगीएको छन् ।

फलतः अहिले नेपालको राजनीतिमा देखापरेको धुव्रीकरणमा ओली–नेपाल सम्बन्ध नै प्रमुख कारण बनेको छ ।