Breaking

माओवादी फेरि पनि फुटको संघारमा, नारायणकाजी भन्छन्- सँगै बस्नुको अर्थ छैन


काठमाडौँ – एमसीसी पासले माओवादी केन्द्रमा ल्याएको मतभेदले चरम रुप लिएको देखिएको छ । एमसीसीले माओवादीलाई दुई चिरा पारेको सर्वत्र छताछुल्ल नै भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीचको विवादले अन्तत पार्टी नै फुट्ने संघारमा पुगेको छ । प्रचण्डले पार्टीको निर्णय विपरीत एमसीसी अनुमोदन गर्नमा सहयोग गरेकै कारण श्रेष्ठलगायतका नेताहरु प्रचण्डसँग रुष्ट भएका हुन् ।

यता प्रचण्ड भनेकै माओवादी केन्द्र भएको छवि बनाएको प्रचण्डले पनि असन्तुष्ट नेताहरु विशेषत श्रेष्ठलाई ‘पार्टी छाडेर जाँदा हुने’ खालको अभिव्यक्ति दिएपछि श्रेष्ठले यस विषयले सोच्न बाध्य बनाएको प्रतिक्रिया दिएका थिए ।

त्यसपछिको घटनाक्रमले अर्कै मोड लिएको छ । प्रचण्डको यस्तो अभिव्यक्तिपछि पार्टी फुटको कारण बन्न सक्ने अवस्था नआओस् भन्नका लागि प्रचण्ड श्रेष्ठलाई मनाउन दौडधुपमा लागका छन् । हिजो बुधबार प्रचण्ड श्रेष्ठलाई मनाउन उनैको निवास हात्तीवन पुगेका थिए ।

आज पनि श्रेष्ठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । हिजो र आजको भेटमा प्रचण्डको एउटै भनाई आएको छ । जहँ उनले श्रेष्ठलाई पार्टी नछोड्न आग्रह गरेका थिए । त्यस्तै पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

तर, पूर्व एकता केन्द्र समूहका नेताहरु लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडासहित श्रेष्ठ पार्टी विभाजन गर्ने मनसाय बनाईसकेको आशंका उनको पछिल्लो अभिव्यक्तिले संकेत गरेको छ । प्रचण्डले पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले उनी नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता श्रेष्ठ पक्षले निष्कर्ष निकालेको छ ।

नेता श्रेष्ठ पक्षको यो निष्कर्षले अबको दिनमा प्रचण्डसँगको सहकार्य लगभग समाप्त हुने पुुष्टि गरेको छ । बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच छलफल भएको थियो। आज पनि पूर्वएकता केन्द्र अब कसरी अघि बढ्ने भनेर ललितपुरमा गोप्य छलफलमा छन् ।

पूर्वएकता केन्द्र पक्षधर नेताहरू शुक्रबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुने वा नहुने निर्णय गर्न पनि आजै हुने छलफलबाट टुंगो लाग्ने छ ।