काठमाडौ – सैन्य शक्तिले भरिपूर्ण रुसले युक्रेनमा आक्रमण सूरु गरेको एक साता भयो । तर अझै युक्रेनमा कब्जा भने जमाउन सकेको छैन । आक्रमणलाई रुसले तिब्र बनाए पनि युक्रेनको समर्थनमा शक्ति राष्ट्र देखि साना देश समेतले आर्थिक र सैन्य सामाग्री सहयोग गर्ने बताए पछि युक्रेन थप हौसिएको छ । रुसले युक्रेनमा आक्रमण सूरु गरेको सातौ दिनसम्म पनि गोलाबारीलाई तीव्र बनाईरहेको छ ।
तर, रुसी सेना राजधानी किभलाई नियन्त्रणमा लिन आफ्नो सम्पुर्ण बल लगाई रहे पनि सफल भने हुन सकेको छैन । युक्रेनलाई विश्वका अधिकांश देशले खुलेरै समर्थन गरिरहेका छन्, जसका कारण रुसलाई युक्रेन कब्जा गर्न हम्मेहम्मे परेको देखिन्छ ।
युक्रेन भन्दा रुस सैन्य शक्ति, हातहतियार र आर्थिक रुपमा पनि सयौै गुणा शक्तिशाली छ । तर उसका सामु युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्की अझै पनि झुकेका छैनन् । बरु रुसी सेना धपाउन अझै पनि विश्व समुदायलाई सहयोगको अपिल गरिरहेका छन् । फलतः साना देश सहित युरोपेली युनियन, अमेरिका लगायत रुस सँग व्यापारीक सम्बन्ध भएका देसले रुसलाई आर्थिक प्रतिवन्ध लगाएर एक्ल्याइरहेका छन् ।
नेपालले समेत युक्रेन एउटा स्वतन्त्र देश भएकाले रुसले ज्यादती गर्न नहुने तर्क गरेको छ । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा भोट समेत हालेको छ । जेनेभामा भएको परिषद्को बैठकमा राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रूसी आक्रमणपछि युक्रेनमा भएको मानव अधिकारबारे आपतकालीन छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
परिषद् सदस्य रहेको रूसका प्रतिनिधिले भने यस्तो छलफल जरूरी नरहेको बताएका थिए । दुई पक्षको विवादले बैठक केहीबेर रोकिएको थियो । विवाद भएपछि प्रस्तावमाथि मतदान भएको थियो । मतदानका क्रममा नेपालले युक्रेनको प्रस्तावमाथि छलफल हुनुपर्ने पक्षमा भोट दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
युक्रेनको प्रस्तावको पक्षमा २९ मत आएको थियो भने ५ देशले विपक्षमा भोट हालेका थिए । १३ देश अनुपस्थित भएका थिए । भारत मतदानमा अनुपस्थित भएको थियो भने चीनले युक्रेनी प्रस्तावको विपक्षमा मतदान गरेको थियो । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा ४७ मुलुक सदस्य छन् ।
बहुमतले पारित भएसँगै युक्रेनको प्रस्तावमा बिहीबारदेखि छलफल सुरू हुने भएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेकै दिन नेपालले रूसी कदम संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको बताएको थियो ।
दुई देशबीचको शान्ति वार्ता विफल भएपछि आक्रमणलाई बढाएको रुसले यतिवेला युक्रेनको राजधानी किभ केन्द्रित आक्रमण गरिरहेकोे छ । रुसले केही समयअघि किभमा रहेको टिभी टावरमा आक्रमण गर्दा पाँच जनाको ज्यान गएको युक्रेनले जनाएको छ । रुसले अहिले किभमा रहेका सुरक्षा र प्रविधि संयन्त्रहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
यसैबीच विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनका लागि तीन बिलियन अमेरिकी डलर सहायता घोषणा गरेको छ । दुई संस्थाले संयुक्त विज्ञप्ति निकालेर बढ्दो मृल्यवृद्धी रोक्न र युक्रेनी नागरिकको सहायताका लागि अर्को हप्तासम्ममा सहयोग रकम तीन सय ५० बिलियन डलर पुर्याउने बताएका छन् ।
यसैबीच बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आफ्नो सेना युक्रेनमाथिको आक्रमणमा रुसी सेनासँग सामेल नहुने बताएका छन् । भ्लादिमिर पुटिनका नजिकका सहयोगी लुकासेन्कोले बेलारुसी सेनाले सैन्य कारबाहीमा भाग नलिएको र कहिल्यै नलिने बताएका छन । तर, बेलारुसका सेनाले समेत आक्रमण गरिरहेको युक्रेनले दावी गरेको छ ।
यसैबीच, रुसले शान्ति वार्ताको लागि युक्रेनले चासो नदेखाएको आरोप लगाएको छ । संयुक्त राष्ट्रंघका लागि रुसी राजदुत गेनाडी गाटिलोभले युक्रेन र उसलाई सहयोग गर्नेहरुले आवश्यक कुटनीतिक पहल नगरेको बताएका छन् । तर, युक्रेन कब्जा गर्ने रणनीतिबाट भने रुस पछि हटेको छैन् ।


प्रतिक्रिया