राजनीति

सबै दलको सद्भावले एमसीसी पास भएको सरकारको भनाई, यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका निर्णय


काठमाडौँ – सरकारले एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्वद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलहरु, सभामुख तथा सांसदहरुलाई सरकारले धन्यवाद दिएको जानकारी दिनुभयो ।

त्यसैगरी सहयोग र सद्भाव राख्ने नेपालीहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायीलाई पनि सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरिएको उहाँले उल्लेख गर्नुभयो । बैठकले विभिन्न प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरुमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई तोक्ने निर्णय गरिएको छ ।

त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।