राजनीति

राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनयन


काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । अध्यक्ष थापाले ६ जना उपाध्यक्षसहित ४ जनालाई महामन्त्री र ६ जनालाई सहायक मन्त्री गरी १६ जना पदाधिकारी मनोनयन गरेका हुन् ।

गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थिए । उपाध्यक्षमा यसअघि पार्टीको नेतृत्व गरी अध्यक्ष पद सम्हाल्दै आएका लाक्पा तामाङसहित काठमाडौँबाट उद्धव पौडेल, जयकुमार खड्का, परेका छन् भने बाँकेबाट राजेन्द्र वीर राय, राजीव पराजुली पर्साबाट र तनहुँबाट डा.विष्णु भण्डारी मनोनयनमा परेका छन् ।

यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर) मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) चयन भएको राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फागुन १५ मा पनि थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गरेका थिए । त्यतिबेला उनले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गरेका हुन् । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित भएका थिए भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन भएका थिए । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ सदस्यीय भएको छ ।