राजनीति

प्रचण्डको अभिव्यक्तिले माओवादीमा फेरि दरार, फुटको श्रृङ्खला जारी हुने संकेत


काठमाडौँ – यतिखेर नेकपा माओवादी केन्द्रका दुई शीर्ष नेताहरुबीच मनमुटावको अवस्था सिर्जना भएको छ । अध्यक्ष पुष्पकमल दाहाल र प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीचको विवाद यतिसम्म सतहमा पुगिसक्यो कि दाहालले पार्टी त्यागेर जान सक्ने सांकेतिक स्वीकृति नै दिइ सके ।

हुन त विगतमा पनि माओवादी केन्द्रबाट शीर्ष नेताहरु नछुटिएका भने होइन । विभिन्न कारण वा पदको स्वार्थले पटक पटक माओवादीबाट शीर्ष नेताहरु छुटिदँै आएका छन् । तर यसपटक भने कुनै व्यक्तिगत स्वार्थले नभई अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताले पार्टी त्यागेर जान सकिनेसम्मको आशयको अभिव्यक्ति आएको हो ।

नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको असहमतिका बीच प्रचण्डले व्याख्यात्मक घोषणा गरेर सम्झौता अनुमोदन गरेपछि दुई चिरा परेको माओवादीमा अध्यक्ष प्रचण्डले खुमलटारस्थित पत्रकार सम्मेलनमा ‘पार्टी छाडेर जाँदा हुने’ अभिव्यक्ति दिएका थिए । जसले नारायणकाजी श्रेष्ठलाई सोच्न बाध्य बनाएको छ ।

माओवादी प्रचण्डकै इसारामा चल्छ भन्ने त सबैलाई थाहा नै भएको कुरा हो । तर, प्रचण्डको यस्तो खाले अभिव्यक्तिले यी दुईबीचको मनमुटावको व्याख्या त गर्छ नै साथै, यसले माओवादीमा पार्टी फुटको श्रृङ्खलाले पनि निरन्तरता पाउने आशंका गर्न सकिन्छ ।

यसअघि पनि मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी जस्ता प्रभावशाली नेताहरु माओवादी केन्द्र परित्याग गरिसकेका छन् ।