राजनीति

एमसीसीमा व्याख्यात्मक घोषणा माधव र प्रचण्डको लाज छोप्ने टालो हो : ओली (भिडियोसहित)


काठमाडौँ — एमसीसी व्याख्यात्मक घोषणासहित संसद्वाट पास भएपछि दलहरु आफूले जस लिने र अरुलाई अपजस दिने होडमा छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कारण व्याख्यात्मक घोषणा सम्भव भएको दाबी गरेको भोलिपल्ट एमाले अध्यक्ष केपी ओलीले त्यसको कुनै अस्तित्व नरहेको बताए भने माधवले आफ्नो पार्टीको कारण एमसीसी सच्चिएर पारित भएको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास भएको पर्सीपल्ट मंगलबार यसप्रति आफ्नो धारणा सार्वजनिक गर्दै संसदबाट पारित भईसकेकाले यसलाई कार्यान्वयन गरेर लैजानुको विकल्प नरहेको बताए । सम्झौंताबारे मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले देशको विकासको पक्षमा, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताको पक्षमा अलिकति पनि कुनै पनि प्रावधानले तलमाथि नपर्ने गरी त्यसलाई कार्यान्वयन गरेर अघि बढाउन सरकारलाई सचेत गराए ।

यदि कुनै हिसावले देशको सार्वभौमसत्तामा, स्वाधिनतामा, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्न हुन नसक्ने अध्यक्ष ओलीको भनाई थियो । संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे । उनले सत्तारुढ दलहरुले आफ्नो लाज छोप्न, नेपाली जनतालाई अल्मल्याउन व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर ठगी धन्दा चलाएको तर्क समेत गरे ।

अध्यक्ष ओलीले सभामुख अग्नीप्रसाद सापकोटाले संवैधानिक रुपमानै मृत भईसकेको एमसीसी सम्झौंतालाई संसदबाट पारित गर्न दिएर अर्को गम्भिर गल्ती गरेको आरोप लगाए । फेरी पनि सभामुख सापकोटाले सरकारलाई गर्न लगाएको अध्यक्ष ओलीको दावी थियो । अध्यक्ष ओलीले आफ्नो पार्टीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताए । उनले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने पनि बताए ।

अध्यक्ष ओलीले संशोधनका कुरा गर्नेहरुले पनि यथास्थितिमा एमसीसी पास गरेको भन्दै आपत्ति जनाए । यता सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसीको सम्बन्धमा उठेका आशंकाहरुको निवारण व्याख्यात्मक घोषणाले गरेकाले त्यसको अनुमोदनको पक्षमा उभिएको बताएको छ । मंगलबार एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्दै एमसीसीको सम्बन्धमा उब्जिएका आशंकाहरुको निवारण अमेरिकाले गरेको र व्याख्यात्मक घोषणाले पनि यसबारेका भ्रमहरुलाई स्पष्ट पारेकाले एमसीसी अनुमोदनको पक्षमा उभिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा नभएको स्पष्ट पारेसँगै एमसीसी अनुमोदन गरिएको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसी सम्झौतालाई आफैले संसदमा अगाडी बढाए पनि तत्कालिन प्रधानमन्त्री ओली र ओली नेतृत्वका मन्त्रीहरुले यसबारेमा विवाद सिर्जना गरेको आरोप पनि लगाए ।

अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानूनी मान्यता पाउने बताए । एमालेको समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उनको दावी थियो । सम्झौता अनुमोदन पछि अमेरिका र छिमेकी राष्ट्र चीनको समेत सकारात्मक प्रतिक्रिया आएकोे उनले बताए ।