राजनीति

एमसीसीका कारण माओवादीमा विभाजनको डिलमा

चर्कियो असन्तुष्टि


काठमाडौँ — संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ । एमसीसी अनुमोदनमा समर्थन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी गरेका छन् ।

परिस्थितिले नाटकीय मोड नलिए माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहितका केही पूर्व स्थायी समिति सदस्यहरु बाहिरिने छन् । फागुन २० गते डाकिएको केन्द्रीय समिति बैठकसम्म कुर्ने, त्यहाँ आफ्ना कुरा राख्ने र अनि बाहिरिने उनीहरुको योजना छ ।

महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरुले तीव्र दबाब दिएपछि यस्तो छलफल चलेको हो ।

केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज जीवन गौतमले केन्द्रीय समिति बैठकमा आफ्ना कुराहरु राख्ने बताउँदै त्यहाँ सम्बोधन नभए नयाँ पार्टी निर्माणमा लाग्नुपर्ने निष्कर्षमा पुगेको बताए ।

फागुन १५ गते बसेको संसद बैठकबाट करिब ५५ अर्ब बराबरको एमसीसी अनुदान सम्झौता र १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अनुमोदन भएको थियो। त्यसप्रति वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले तीव्र असन्तुष्टि जनाएका थिए।