विदेश

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेना


काठमाडौँ – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ । रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो ।

स्याटेलाइट तस्वीरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ, जुन युक्रेनको सीमाभन्दा करिब २० किलोमिटर मात्रै टाढा रहेको छ । रुसले युक्रेनमा जमिन र हवाई दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट हालसम्म ३५० जनाको मृत्यु भइसकेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । रुसी सेनाको आक्रमणबाट पूर्वी युक्रेनको ओख्तिर्का भन्ने स्थानमा ७० जना युक्रेनी सैनिकको मृत्यु भएको छ ।

युक्रेनबाट ६ लाख बढी मानिसहरू विस्थापित भएका छन् । रुसले गरेको आक्रमणका कारण युक्रेनका भवन, गाडीहरू क्षतिग्रस्त भएका तस्वीरहरू सार्वजनिक भएको छन् । बेलारुसमा शान्ति वार्ता जारी रहेकै बेलामा पनि रुसले युक्रेनमा आक्रमण नरोकेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसले युक्रेनमा गरेको आक्रमणको अन्तर्राष्ट्रिय स्तरबाट विरोध भइरहेको छ । रुसमा बिभिन्न प्रतिबन्धहररु लागू गरिएको छ । तर रुस भने पछि हटेको छैन ।