राजनीति

ओलीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा संसदमा बोल्न नपाएको नेकपा (एमाले) ले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

एमसिसीसहित विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा एमाले अध्यक्ष केपी ओलीले दिउँसो १ बजेपछि पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लाग्नुभएको हो ।

ओलीले यसअघि कांग्रेस र माओवादी केन्द्रले उठाएका विषयमा जवाफ दिने तयारी गरेको बताइएको छ । ओली निकट नेताहरूले भने एमसिसी नेपालको हितमा रहेको धारणा सार्वजनिक गर्दै आएका छन् ।

यसैबीच, नेकपा (एकीकृत समाजवादीले पनि आजै पत्रकार सम्मेलन गरेर एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ । कांग्रेस र माओवादीले एमसिसी पास भएपछि आ–आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । सत्तारुढ गठबन्धनको सहमतिमा एमसिसी संसदबाट अनुमोदन भएको थियो ।