राजनीति

जनतालाई भिडाएर अमेरिकालाई खुशी बनाएकाहरु


काठमाडौँ – संसद्बाट अनुमोदन भएसंगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनको चरणमा अघि बढेको छ । व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपनि त्यसलाई अमेरिकाले पनि स्वागत गरेको छ, भने अपेक्षित विरोध सुनिएको छैन । यता माओवादी केन्द्र र कांग्रेसले एमसीसी पास गर्नुका कारणबारे प्रष्टिकरण दिएका छन भने एमालेको वोली बन्द भएको छ ।

आईतबारको संसद वैठकबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयको दिशामा अघि बढेको छ । जसको अमेरिकाले समेत स्वागत गरेको छ । अमेरिकी दुतावासले विज्ञप्ती जारी गर्दै एमसीसी अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा रहेको बताँउदै यो निर्णयले नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्ने विश्वास व्यक्त गरेको छ ।

व्याख्यात्मक घोषणा अमेरिकाले नस्वीकारे सम्झौता खारेज हुने घोषणाको खाँका तयार गर्नेहरुले बताइरहँदा दुतावासको पछिल्लो खुसीयालीलाई घोषणको स्वीकारोक्तीका रुपमा समेत बुझिएको छ । यद्यपी यसअघि नै अमेरिकाले ग्रिन सिंगनल दिएपछि नै सत्ता घटकहरु घोषणाको बाटोमा अघि बढेको विश्लेषण समेत हुँदै आएको छ ।

एमसीसीका विषयमा विमती राख्ने सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत भियाना सन्धिअनुसार पनि प्रतिनिधिसभाबाट घोषणा गरिएको अर्को पक्षले स्वीकार्नुपर्ने देखिएकाले आफूले सहमति जनाएको भन्दै प्रष्टिकरण दिएका छन् ।

एमसीसी सम्झौता अनुमोदन महाकाली सन्धिजस्तो नरहेको बताएका उनले यसबारे काठमाडौंस्थित अमेरिकी दूतावासलाई पनि जानकारी दिएर अनुमोदन गरिएको प्रष्ट पारेका छन । उनले यो आफ्नो कदमलाई गठबन्धन विघटन हुनेदेखि सरकार परिवर्तनसम्मको खेल र संविधान नै डिरेलको अवस्थामा जोगाउन गरिएको निर्णयका रुपमा समेत अथ्र्याएका छन ।

हुन त वाहिर अपव्याख्या भएजस्तो अवस्था आए सम्झौता अनुमोदनमा सहयोग गर्ने सांसदका नाताले आफूलाई नाकाढुंगा कटाउन कांग्रेस महामन्त्री गगन थापाले चुनौती नै दिईसकेका छन । त्यसमा पनि कट्टर विरोधी देखिएकाहरुकै यु टर्नले सकारात्मक वातावरण सिर्जना गर्दै लगेको छ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले एमसीसी सम्झौंता अनुमोदनमा एमालेको पनि सहयोग रहेको दावी गरेको छ ।

कांग्रेसले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखि संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिएको छ । सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले विश्वास व्यक्त गरेका छन ।

एमसीसी पास हुँदै गर्दा विभाजित जनमत र तातिरहेको सडकका प्रश्न उठेकोमा त्यो पनि शान्त देखिएको छ । हप्तादिबाट जारी एमसीसी विरुद्धको प्रदर्शनमा आईतबारबाटै कार्यकर्ता पातलिदै गएका थिए भने सोमबार पनि अपेक्षित अवस्था सिर्जना भएको छैन । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पुरानै अडान लिइरहँदा राष्ट्रिय सहमति कायम नभएपनि एमाले पनि एमसीसीबाट अछुतो रहेको छैन ।

वरु संदनमा एमसीसी पास हुदै गर्दा साक्षीमात्र बसेका कारण प्रष्टिकरणको नैतिकता समेत उसले गुमाएको छ । समग्रमा लामो समयदेखि अनावश्यक गिजोलिएको एमसीसी र त्यसले गिजोलेको राजनीतिक परिस्थीतीमा निकास देखिएको छ भने एमसीसी कार्यान्वयनतर्फ अघि बढेको छ ।