राजनीति

बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ


काठमाडौँ – एमसीसी पासको विरोधमा उत्रिएका १७ जना बन्दकर्तालाई प्रहरीले बुटबलबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, वीरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी गराए ।

विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसी सम्झौता संसदबाट पारित भएको विरोधमा सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । जबर्जस्ती बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।