राजनीति

एमसीसी पास भएपछि अमेरिकाले भन्यो- नेपाललाई निरन्तर सहयोग गर्छौं


काठमाडौँ — संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो । उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको छ ।

संसदबाट एमसीसी पारित भएपछि नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र सुलभ यातायात हुने विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले नेपालसँगको सम्बन्धको ७५ वर्ष पुगेको स्मरण गर्दै नेपालको विपद् प्रतिकार्य, पूर्व तयारी, शिक्षालगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएकोसमेत बताएको छ ।

अमेरिकाले एमसीसी स्थापनाको २० वर्षमा विभिन्न गरिब तथा विकासशील देशहरुसँग साझेदारी गर्दै गरिबी कम गर्ने काम गरेको भन्दै कुनै पनि देशको स्वतन्त्रतासँग अमेरिका प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।