राजनीति

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका ५ नेताको असहमति


काठमाडौँ — एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।

निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए । यसले यसअघि आफूहरूले उठाएका एजेण्डा कमजोर बन्ने र अहिलेसम्मको विरोध औचित्यहीन हुने उनको भनाइ छ ।

बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बाँडेका थिए । त्यसमा सामान्य छलफलमात्रै भएको उनले बताए ।