राजनीति

सत्ता गठबन्धनका नेताहरूको बैठक जारी


काठमाडौँ — सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको आजको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनका नेताहरूको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता सम्बन्धमा निर्णय लिने बताइएको छ । एमसीसी संसद्बाट अनुमोदन गराउन नेताहरू जुटेका हुन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि, बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यस बैठकले संसद्को कार्यसूची तय गर्नेछ ।

संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । अमेरिकाले संसद्बाट एमसीसीको विषय टुंगो लगाउन दिएको समयसीमा भोलि सकिँदै छ ।