राजनीति

पार्टी बैठक सकेर प्रचण्ड पुगे बालुवाटार


काठमाडौँ — खुमलटारमा आयोजित पार्टीको पूर्वस्थायी कमिटी बैठक सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खर बालुवाटार पुगेका छन् ।

अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदै छ । त्यसका लागि नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने क्रम सुरु भएको छ ।

आज सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच एमसीसी अनुमोदनमा सहमाति गर्न लागि​एको हो।

संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । यसअघि गत बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सत्ता गठबन्धनमा सहमति हुन नसकेकै कारण स्थगन गरिएका थिए।

त्यसपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर भए पनि एमसीसी संसदबाट पारित गराएरै छाड्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्न थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो अडानमा लचकता अपनाएका हुन् ।