राजनीति

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ — एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ । गठबन्धनमा एमसीसीलाई लिएर एकमत छैन । नेकपा एकीकृत समाजबादी एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नु पर्ने पक्षमा छ । जनता समाजवादीभित्र यसविषयमा एकमत छैन । डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् ।

आज दिउँसो १ बजे संसद बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयास स्वरुप बैठक बस्न लागेको हो । व्याख्यात्मक विश्लेषण गरेर भएपनि एमसीसी पास गरेर गठबन्धन जोगाउनु पर्ने गठबन्धनभित्रका नेताहरुले बताइरहेका छन् ।