राजनीति

एमसीसी पारित हुने र गठबन्धन पनि नटुट्ने उपायको खोजीमा प्रचण्ड


काठमाडौँ – सत्तारुढ गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनु भयो ।

शनिबार सिंहदरवारमा आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया समेत दिनु भयो । अध्यक्ष दाहालले भन्नु भयो, ‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढछ ।’

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भईरहेको बताउदै आउनु भएको छ ।