राजनीति

एमसीसीका विषयमा जसपा आज निर्णय लिने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले एमसीसीका विषयमा आज निर्णय लिने भएको छ । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा छलफल गरिरहेको छ ।

बैठकमा कार्यकारिणी सदस्यहरूलाई एमसीसी सम्झौताको कपी अध्ययनका लागि वितरण गरिएको थियो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसी पास गराउनुपर्ने पक्षमा छ भने कार्यकारी अध्यक्ष उपेन्द्र यादव भने एमसीसीका विषयमा मौन देखिनुभएको छ ।

कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुनेछ ।

बैठकले कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा छलफल हुने जसपाले जनाएको छ ।