विदेश

रुसका सेना धपाउन युक्रेनी जनता नै हतियार बोक्न बाध्य


काठमाडौँ – यतिवेला विश्वको ध्यान रुस र युक्रेनको विनासकारी युद्धमा केन्द्रीत छ । विहिवार विहानबाट सुरु भएको युद्ध रोकिने कुनै संकेत देखिएको छैन । बरु थप युद्धले उग्र रुप लिदैछ । यसविचमा रुसलाई युरोपका अधिकांस देशले आर्थिक प्रतिवन्ध गलाएका छन् भने युक्रेनको साथ अमेरिकाले छोडिदिएको छ । त्यस्तै, युक्रेनी जनतालाई सरकारले हतियार दिँदै रुसी सेनालाई धपाउन आदेश दिएको छ ।

रुस र युक्रेनको द्वन्दले विश्व नै विभाजित हुने चर्चाका विच घटनाक्रमले नयाँ नयाँ रुप दिइरहेको छ । रुसी सेना राजधानी किएभमा पसिसकेका युक्रेनले जनाएको छ । युक्रेनको रक्षा मन्त्रालयले आज शुक्रवार एक ट्वीट गर्दै यो कुराको पुष्टि गरेको हो ।

रुसी सेना राजधानी किएभमा रहेको संसदबाट नौ किलोमिटर टाढा रहेका युक्रेनको रक्षा मन्त्रालयले बताएको छ । रुसले युक्रेनमाथि बिहीवार आक्रमण सुरु गरेको थियो । त्यो घोषणापछि रुसी सैनिक विभिन्न भागबाट युक्रेन पसिरहेका छन् । यसैविच, रुसले युक्रेनको एउटा टापुमा कब्जा जमाएको छ । रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमामा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको हो ।

यस्तै, रुसी सेनाको आक्रमण पछि युक्रेनमा रहेकाहरु सुरक्षित ठाउँतर्फ भाग्न थालेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार हिजो मात्रै एक लाख मानिसले आफ्नो घर छाडेका छन् । त्यसमध्ये धेरैजसो आन्तरिक रूपमा विस्थापित भएका छन् । पोल्यान्डले युद्धका कारण भागेर आउने युक्रेनी नागरिकलाई खानेकुरा र औषधि दिन युक्रेनसँगको सीमानाकामा सम्पर्क केन्द्र नै स्थापना गरेको छ ।

कतिपय युक्रेनी नागरिक रोमानिया र हङ्गेरी पुगेका छन् । अमेरिकाले युद्धका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ । त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशमा सेनाको परिचालनको आदेश दिएका छन् । उनले जगेडामा राखिएका सेनालाई काममा बोलाइएको तथा १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताएका छन ।

युक्रेनको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ । युक्रेनको सेनाका अनुसार रुसले राजधानी किभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी आक्रमणको जवाफमा आक्रमण गरिरहेको बताएकोे छ ।

रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिक घर छाडेर सुरक्षित ठाउँमा पुगेका छन् । रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किभमा कयौँ नागरिक मेट्रो स्टेसनमा पुगेका छन् । बम आक्रमणबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि मेट्रो स्टेसन खुला राखिएको छ ।

त्यस्तै, संयुक्त राष्ट्रसंघ महासभाको ७६ औं सत्रका अध्यक्ष अब्दुल्ला शाहिदले युक्रेनमा शान्तिपूर्ण माध्यमबाट तत्काल युद्धविराम र विवाद समाधान गर्न आह्वान गरेका छन् । तर, अबस्था भने नियन्त्रण बाहिर गएको छ ।
सुरुदेखि नै साथ दिने भनिरहेको अमेरिकाले पनि युक्रेनमा सैन्य सहयोग नगर्ने बताए पछि रुस थप बलियो बन्दै गएको छ । तथापि रुसमा युरोपेली युनियन सहित पश्चीमा राष्ट्रले भने आर्थिक प्रतिवन्द लगाई सकेका छन् ।