राजनीति

रसिया युक्रेन युद्धको प्रत्यक्ष प्रभाव नेपालमा, भान्सा महङ्गिदै


काठमाडौँ – पूर्वी युरोपको एउटा मुलुक युक्रेन अहिले विश्वभर चर्चामा छ । कारण हो शक्ति राष्ट्र रसियाले उसमाथि गरेको हमला । भूगोल र भावनाका हिसाबले युक्रेन नेपालभन्दा टाढा छ । तर, नेपाल र युक्रेनबीचको सिधा व्यापारिक सम्बन्ध र अन्यमुलुकमा परेको प्रभावले नेपाल अछुतो भने रहने छैन । रुस–युक्रेन युद्धको सिधा असर नेपालमा पनि देखिने निस्चित जस्तै छ । दुई देशबीचको युद्धले विश्वको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि पर्ने छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै विश्वबजारमा आर्थिक गतिविधि प्रभावित बन्न थालिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । रुसले आक्रमण सुरुगर्नुपुर्व बुधवार प्रतिब्यारेल ९४ दशमलव १२ डलर रहेको कच्चा तेलको मूल्य एक्कासी बढेर हाल प्रतिब्यारेल एक सय ५ डलर पुगेको छ । त्यस्तै सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन् ।

दुई देशबीचको युद्ध थप बढ्दै गए आउँदा दिनमा तेलको भाउ अझै बढ्न सक्ने अनुमान छ । रुस विश्वमा सबैभन्दा धेरै कच्चा तेल उत्पादन गर्नेमध्ये दोस्रो ठूलो देश हो । युद्ध सुरु भएपछि कच्चा तेलको आपूर्तिमा असर पर्न थालेको छ । युद्ध बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ अझै बढ्न सक्ने र नेपालमा पनि महँगो हुनेछ । योसँगै नेपालमा ढुवानी र आपूर्तिमा समस्या निम्तिने विज्ञले बताएका छन । पेट्रोल, डिजेल, मट्टितेल, ग्यासलगायतको भाउ बढेपछि यसले नेपाली भान्सामा प्रत्यक्ष प्रभाव पार्ने उनीहरुको विश्लेषण छ ।

नेपाल आयल निगमको घाटा अझ बढ्ने देखिन्छ । घाटा वहन गर्न सरकारले खर्च गर्नुपर्नेछ । त्यस्तै रुस र युक्रेनसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी देशबीच आयात निर्यात प्रभावित हुन सक्ने देखिन्छ । नेपालले रुस र युक्रेनबाट केराउ, पाम आयल, सोयाबिन, सनफ्लावर तथा तोरीको तेललगायतका वस्तु आयात गर्छ ।

सरकारले सम्भावित असर न्यूनीकरण गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायबीच छलफल गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, अवस्थाको आकलन गरी सेवाप्रवाहलाई नियमित गर्नुपर्ने, आयल निगमको भण्डारण क्षमता बढाउनुपर्ने, बिजुलीको प्रयोग सकेसम्म बढाउनुपर्ने विज्ञले बताउदै आएका छन ।

नेपाल र युक्रेनबीचको सीधा व्यापारिक सम्बन्ध छ । गत आर्थिक वर्षमा युक्रेन नेपाललाई सबैभन्दा धेरै वस्तु विक्री गर्ने मुलुकमा छैठौं स्थानमा थियो भने चालु आर्थिक वर्षको पहिलो सात महिनामा युक्रेन आठौं स्थानमा छ । युक्रेनबाट विभिन्न औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका उद्योगी–व्यवसायीहरु युक्रेन संकटको सामान्य असर नेपाली अर्थतन्त्रमा देखिइसकेको बताउँछन् । यसले नेपालमा युक्रेनबाट आयात हुने औद्योगिक कच्चा पदार्थको मूल्य बढ्ने उनीहरुको भनाइ छ ।

युक्रेन संकटको तत्काल सुन, पेट्रोलियम पदार्थ र खाने तेलमा पर्ने व्यवसायीहरुको भनाइ छ । रुसले आक्रमण सुरु गरेपछि युक्रेनी नागरिक राजधानी किभ छाडेर सुरक्षित स्थानतर्फ लागिरहेका समाचार आइरहेका छन् ।

जानकारहरुका अनुसार रुस–युक्रेन तानवले संसारभरको आपूर्ति व्यवस्थामा असर पर्ने भएकाले सुन र कच्चा तेलको मूल्य आकासिन थालिसकेको छ ।

सुन र कच्चा तेलको कारोबार अन्तर्राष्ट्रिय बजारको महत्वपूर्ण पक्ष हुन् । यी वस्तुको मूल्य बढ्दा आयातका लगि थप रकम खर्च गर्नुपर्ने र नेपाली मुद्राको अवमूल्यन हुन सक्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।