राजनीति

नयाँ समीकरण बन्दै, प्रचण्ड–माधव तनावमा


काठमाडौँ – एमसीसीकै कारण नेपाली राजनीति यतिबेला गम्भीर मोडमा आइपुगेको छ । पक्ष विपक्षमा उभिएका दलहरु रणनीतिका साथ भेटवार्ता गर्ने र एकअर्कालाई तर्साउन लागिपरेका छन् । तर सकसै सकसमा फसेपछि निकास दिन असफल छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुरी बढ्दै जाँदा जति फाइदा लिए उतिनै फाइदा ओलीले देउवा र प्रचण्डबीचको दुरी बढाएर लिन खोजिरहेका छन् । यसका लागि गठबन्धन भत्काउनुनै उनको अन्तिम उद्देश्य जस्तै छ । बिहिबार र शुक्रबार भएका लगालगका भेटवार्ताले यसको संकेत गरेको पनि छ ।

अहिले सबैभन्दा बढी सम्भावना आँकिएको तालमेल काँग्रेस र एमालेबीचको नै हो । तर यसअघि प्रतिगमनकारीको नाम दिएका देउवा र परमादेशीको सरकारभन्दै आएका ओलीलाई तालमेल गर्दै अघि बढ्न सकस छ । ओलीले अघि सारेका मुद्धामा सहमति जनाएर गठबन्धन भत्काउने विषयमा देउवा तयार देखिन्छ ।

किनकि उनलाई एमसीसी अनुमोदनमा प्रचण्ड–माधवको साथ देखिएको छैन । तर राष्ट्रपति ओली अनुकुल भएकाले बेला आफ्नै सरकार ढालेर ओली सत्ता चढ्ने भयले देउवालाई त्रसित पारेको छ । उनलाई ओली–प्रचण्ड फेरि मिलिहाल्छन कि भन्ने अर्काे चिन्ता पनि छ ।

काँग्रेस र एमालेबीच वार्ता सकारात्मक भएको सन्देश प्रवाह भएपछि सबैभन्दा बढी माओवादी र नेकपा एकीकृत समाजवादी पिरोलिएको छ । कतिसम्म भने, आफैले प्रतिगमनकारी भन्दै प्रधानमन्त्रीबाट हटाएका ओलीलाई पुनः अस्तित्व स्वीकार्दै प्रधानमन्त्री बन्न प्रचण्डले प्रस्ताव नै गरे । तर ओली–प्रचण्डबीच अहिले नै त्यो सम्भावना देखिएको छैन । चुनावसम्म उनीहरुको तालमेल हुनसक्ने विषयलाई भने टाढा मानिएको छैन । यद्यपी माधवकै कारण ओली–प्रचण्ड मिलन झन टाढा छ ।

ओली–देउवा मिलेको खण्डमा माधव नेपालसहितका १४ सांसदको पद जाने सम्भावना बढ्ने छ । कांग्रेस र एमाले मिलेर अगाडि बढे आफूहरुको राजनीतिक भविष्य संकटमा पर्ने भय प्रचण्ड–माधवमा देखिएको छ । यसैकारण एकले अर्काेलाई अपवित्र देखाएर सक्न लागिपरेका उनीहरु मिलनविन्दुको खोजीमा जुटेका छन् ।