राजनीति

एमाले सरकार परिवर्तनको पक्षमा छैन: महासचिव पोखरेल


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पार्नु भएको छ । महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दूरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥याउनु भयो ।

शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग पुग्नु भएका उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासको जवाफ दिने क्रममा सत्तारुढ गठबन्धनले आफ्नो पार्टीको माग सम्बोधन गर्ने वित्तिकै संसद सुचारु हुने र एमसीसीका विषयमा पनि पार्टीले आवश्यक निर्णय लिने बताउनु भयो ।

महासचिव पोखरेलले गैरकानुनी ढंगले पदीय दूरुपयोग गरेर आफ्नो पार्टी विभाजन गराउने काममा सामेल हुने सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पार्टीको माग रहेको स्मरण गराउनु भयो ।

महासचिव पोखरेलले लोकतन्त्रलाई सही बाटोमा अघि बढाउन पनि सभामुख सापकोटाले आफ्नो दल विभाजनका बेला गरेको गल्ती सच्याउन वा पदबाट राजीनामा गराउने काममा नेपाली काँग्रेस सहमत हुनुपर्ने तर्क समेत गर्नु भयो ।