काठमाडौँ — युरोपेली संघ (ईयू) ले रुसविरुद्ध ठूलो प्रतिबन्धको घोषणा गरेको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै रुसविरुद्ध प्रतिबन्धको घोषणा गरिएको बताएका हुन् । ईयूले रुसविरुद्ध वित्तीय क्षेत्र, ऊर्जा, यातायातका साथै केही रुसी अधिकारीलाई भिसामा समेत प्रतिबन्ध लगाएको छ ।
शुक्रबार बिहान बसेको ईयूको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिइन् । अहिले लगाइएको प्रतिबन्धसँगै अब रुसले आफ्नो तेल प्रशोधन केन्द्रको स्तरोन्नतिको लागि आवश्यक प्रविधि खरिद गर्न नपाउने युरोपेली आयोगकी प्रमुखले बताइन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले भनेकी छिन्, ‘ठूलो प्रतिबन्धको प्याकेज गएराति पारित भएको छ र यसले ईयू कति संगठित छ भन्ने देखाएको छ ।’ फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहायताका साथै सैन्य उपकरणहरु पनि दिइने घोषणा गरेका छन् ।
रुसबाट आउने ग्यास तथा तेलमा भने प्रतिबन्ध लगाइएको छैन । युरोपमा रुसबाट करिब ४० प्रतिशत ग्यास आयात हुने गर्छ । यसैबीच फ्रान्सका राष्ट्रपति क्याक्रोँले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेका छन् ।
उनले वार्ताको क्रममा तत्काल युद्ध रोक्न आग्रह गरेको उल्लेख गरेका छन् । साथै युक्रेनका नेताहरुसँग वार्ता गरेर अघि बढ्न पनि म्याक्रोँले सुझाव दिएका छन् ।


प्रतिक्रिया