राजनीति

रुसलाई रोक्न पश्चिमा मुलुकसँग युक्रेनको गुहार


काठमाडौँ — युक्रेनले रुसलाई रोक्न पश्चिमा मुलुकसँग थप कडा कदम चाल्न आग्रह गरेको छ । बेलायतका लागि युक्रेनका राजदूत भादिम प्रिस्टाइकोले एक पत्र लेख्दै रुसले गरेको आक्रमणको विरुद्धमा अमेरिकी सैन्य गठबन्धन नेटो र अन्य पश्चिमा मुलुकलाई थप कडा कदम चाल्न आग्रह गरेका हुन् ।

उनले युक्रेनले रुससामु घुँडा नटेक्ने भन्दै अहिले रुसलाई रोक्न आफूहरुलाई राष्ट्रसंघका सदस्यहरुको सहयोग तत्कालै आवश्यक रहेको उनको भनाइ छ ।

उनले रुसमाथि अन्तर्राष्ट्रिय भुक्तानी तथा अन्य आर्थिक प्रतिबन्ध लगाउनु पर्याप्त नभएको उल्लेख गरेका छन् । यद्यपि अहिलेसम्म पश्चिमा मुलुकले रुसमाथि अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली स्वीफ्टमा प्रतिबन्ध लगाएका छैनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथिको आक्रमणका निन्दा गर्दै रुसमाथि कठोर प्रतिबन्धको चेतावनी दिइसकेका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सांसदहरुसँगको कुराकानीमा यो युद्ध रुसको लागि निकै ठूलो पासो हुने चेतावनी दिएका छन् । रुसले लामो समयसम्म यसको मूल्य चुकाउनुपर्ने ब्लिन्केनको भनाइ छ ।

अमेरिकाले रुसमाथि अहिलेसम्मकै ठूलो प्रतिबन्धको तयारी गरिरहेको पनि उल्लेख गरेको छ । बिहीबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाहीको घोषणा गरेसँगै रुसले युक्रेनमाथि आक्रमण गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार युक्रेनको राजधानी सहर किभमा तीनतिरबाट आक्रमण भइरहेको छ । यद्यपि युक्रेनको सेनाले अपेक्षा गरेभन्दा निकै सशक्त ढङ्गले रुसको आक्रमणलाई रोकिरहेका छन्। तर, उनीहरुले कहिलेसम्म राजधानीलाई बचाउन सक्छन् भन्ने स्पष्ट छैन ।