राजनीति

संसद राजनतिक दाँउपेचको थलो बन्दै न सत्ता पक्ष न विपक्ष कोहि छैन जवाफदेही


काठमाडौँ – आजको संसद वैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको छ । अमेरिकी आर्थिक सहायता परियोजना एमसीसीबारे छलफल शुरु हुने कार्यसूची रहेको बैठक ओलीसंग सहमती नजिक रहेको भन्दै देउवाको आग्रह पश्चात रोकिएको बुझिएको छ ।

जसले संसदप्रति राजनीतिक दलको रवैया पुन एकपटक छचल्कीएको छ भने संसद प्रति सत्तापक्ष र प्रतिपक्ष नै जवाफदेही हुन नसकेको प्रष्ट भएको छ । एमसीसी सम्झौतामाथि सामान्य छलफल हुने कार्यसूची रहेको विहिवारको संसद बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा स्थगित भएको छ । शुक्रबार १ बजेसम्मका लागि संसद स्थगित हुनुमा देउवा र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माओली बीचको छलफल सहमती नजिक पुग्नुलाई कारण मानिएको छ ।

प्रधानमन्त्री देउवाले एमालेसँग आफू सहमति नजिक पुगेको भन्दै प्रतिनिधिसभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेका थिए । प्रधानमन्त्रीको यो आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारीसमेत गराएका थिए । अन्तत यहि कारण वैठक स्थगीत भएको बुझिएको छ । लगत्तै संसद भवनमै देउवा र ओली बीच छलफल भएको छ ।

एमालेसँग पछिल्ला दिन पारित गर्न देउवाले छलफललाई तीव्रता दिएका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी एमसिसीको विपक्षमा उभिने भए पछि देउवा गठबन्धन तोडेर भए पनि एमसिसी पारित गर्ने उद्देश्यमा देउवा छन् ।

यता सत्ता घटक माओवादी र एकीकृत समाजवादी पनि संसदको अवरोध नहटि एमसीसीलाई छलफलमा लान नसकिने अडानमै छन । प्रतिपक्षी एमाले पनि संसदप्रति जवाफदेही देखिएको छैन । दुई दुई पटक संसद विघटन गरेपनि अदालतका कारण थन्किएका ओली अनेक वहानामा आफ्नो पूर्व निर्णय सहि रहेको प्रमाणित गर्ने पक्षमा छन । संसद विघटनपछि पुनस्र्थापीत संसदलाई औचित्यहिन बनाउन विजनेस नै नदिएका उनी परमादेशबाट सत्ता च्युत हुँदा पनि पुरानै अडानमा देखिन्छन् ।

संसदीय व्यवस्थाको उच्चतम थलो ओली सनकले बन्धन बनिरहेको छ । आफूहरुलाई संसदमा जाने वातावरण तयार पार्ने काम सरकारको भएको बताउँदै आएका उनले अदालतमा विचारधीन मुद्धालाई उछालिरहेका छन । अदालतमा विचारधीन विषयमा सदनमा वहस गर्न नपाईने संविधानको धारा १०५ मा प्रष्ट व्यवस्था भएपनि यस्तै विषयलाई राजनतिक मुद्धा बनाउने गलत अभ्यासमा एमाले देखिन्छ । यता एमालेका नेताहरुले भने सरकारले आफूलाई आवश्यक विधेयक जवरजस्ती पास गरिरहेको तथा आफ्नो अनुकुलतामा नै संसदलाई प्रयोग गरिरहेको तर्क गर्ने गरेका छन ।

आफूहरुले अवरोध गरेको भन्दा आफ्नो स्वार्थका लागि सत्ता गठबन्धनले संसद स्थगीत गर्ने क्रम बढेको बताँउदै उनीहरुले विहिबारको बैठक गठबन्धनको आन्तरिक विवादका कारण स्थगित भएको आरोप लगाएका छन । संसदमा एमसीसीको विषय टेवल भएको छ सडक पनि सत्ताघटककै दलहरुका कार्यकर्ताले तताईरहेका छन । यो परिस्थीतीमा देउवालाई पनि संसद र जनताका ज्यान र सवाल भन्दा एमसीसीको विषयले बढि पिरोलिरहेको छ ।

यतिका दिन संसद अवरोधका विषयमा अनुत्तरीत उनी एमसीसीलाई नै देखाएर संसदको अवरोध हटाउन सक्रियता देखाईरहेका छन । तर संसद छल्न विरामी बन्न बाध्य अर्थमन्त्री वाग्लुङमा रमाईरहेका छन भने आफै संसद अवरोधको कारक बनेका सत्ता घटककै दलहरु समेत देउवालाई नै संसद अवरोध हट्ने वातावरण बनाउन दवाव दिईरहेका छन । अर्थात संसदप्रति न सत्ता पक्ष जवाफदेही देखिएको छ न प्रतिपक्ष नै । बरु आफ्नो राजनीतिक च्याखे कसरी सफल हुन्छ भन्नेमै उनीहरु केन्द्रित बनिरहेका छन ।