राजनीति

युक्रेन संकटकाल घोषणा गर्ने तयारीमा


काठमाडौँ – गम्भीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरीटी काउन्सिल) ले संकटकाल लगाउने निर्णय गरेको हो ।

दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निर्णय गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभले सुरक्षा परिषद्को बैठकपछि बताए । दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ ।

संकटकाल सुरुमा ३० दिनसम्म रहने बताइएको छ । यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ ।