राजनीति

अमेरिकी दवाब झेल्न नसकेर एमसीसी संसद्मा पेस गरिएको खनालको दाबी


काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्रीले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसद्मा पेश गरेको बताउनु भएको छ । खनालले प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनको बैठकमा एमसीसीको कुरा बारम्बार गरिरहेको र दबाबका कारण चाँडो भन्दा चाँडो टुंग्याउने बताएको पनि उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी बारे अध्ययनका लागि सरकारले गठन गरेको तीन सदस्य कार्यदलमा पनि हरेक पार्टीका नेताहरुको आ–आफ्नै धारणा आएकोले एमसीसीको बारेमा स्पष्ट लिखित धारणा नबनाइएको बताउनु भयो । उहाँले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताउनु भयो ।

पूर्व प्रधानमन्त्री खनालले अमेरिकी महाशक्तिका सामु नेपाल सरकार नतमस्तक भएर एमसीसी संसदमा पेश गरेको आरोप लगाउनु भयो । पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता दुई सरकारबीच नभइ नेपाल सरकार र अमेरिकी एक निगमबीच भएको बताउनु भयो ।