राजनीति

फागुन १३ भित्र एमसीसी अनुमोदन गर्ने सरकारको तयारी


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा अबको दुई दिनभित्र अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गराउने तयारीमा जुटेका छन् । कांग्रेसका एक सांसदले सम्भव भए फागुन १२ गते नै र नभए १३ गते छलफलपश्चात् सम्झौता संसद्मा निणायार्थ पेस गर्ने सरकारको तयारी भइसकेको दाबी गरेका छन् ।

संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गराउने देउवाको गृहकार्य छ । बिहीबार बस्ने संसद् बैठकमा एमसीसी सम्झौताउपर छलफल सुरु हुनेछ ।

जसको तयारीस्वरूप प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा सत्तासारथि दल नेकपा माओवादी केन्द्रका नेतृत्वसँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साथ दिने वचन दिइसकेको छ ।

सरकारले फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिसकेको छ ।

एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल गरिरहेको छ । तर, सत्तासाझेदार दलहरू नै सम्झौताको विपक्षमा उभिएका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा)भित्र डा.बाबुराम भट्टराई समूह मात्र एमसीसी अनुमोदन गराउनुपर्ने पक्षमा छ ।

एमसीसीका लागि फागुन १६ गतेसम्म संसद् बैठक नलम्ब्याउने सरकारको तयारी छ । जति बैठक लम्बियो त्यति नै विरोधमा सडकमा नागरिक उत्रने भय सरकारलाई छ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ ।