राजनीति

अब ओली-देउवा सत्तामा : एमसीसी छिनोफानो लाउन भेटवार्ता तीव्र, प्रचण्ड-माधव बाइपास (भिडियोसहित)


काठमाडौँ — को सत्तापक्ष को प्रतिपक्ष विगत केही दिनयता यो प्रश्न निकै पेचिलो बनेको छ । सत्तापक्षले सरकारमै बसेर सत्ताको विरोध गरेको छ । प्रतिपक्षले तताउनुपर्ने सडक र सदन पनि सत्तापक्षकै घटकले तताइरहेका छन् । अनिप्रतिपक्षले सत्तापक्षका क्रियाकलापमा साथ दिइरहेको छ ।

जो सडकमा छ उहीँ सत्तामा छ । जसले आफुलाई प्रतिपक्ष हुँ भन्छ उसैले सरकारलाई सत्तापक्ष जस्तो सहयोग गरिरहेको छ । को सत्तापक्ष को प्रतिपक्ष छुट्याउनै मूस्किल छ । सरकारमै बसेर सरकारको विरोध गर्नेहरुले मत नमिले सरकारनै छोड्ने आँट गर्नुपर्छ भन्ने बुझेका छैनन् ।

दोधारैदोधारबीच एमसीसी जस्तो विवादित सम्झौता अब संसदीय प्रक्रियामा गएको छ । आगामी १२ गते एमसीसीबारे संसदमा छलफल हुँदैछ । तर छलफल अघि बढाउने कि नबढाउने भन्नेमा गठबन्धनभित्रका दलहरुबीच नै तीव्र विवाद छ । यसैबीचमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बेलुकामात्रै बालुवाटारमा भेटवार्ता भएको छ । अप्रत्यासित रुपमा जुरेको भेटले नयाँ राजनीतिक तरंग पैदा गरेको छ । प्रधानमन्त्री देउवाले गठबन्धनमै आवद्ध प्रचण्ड–माधवको सहयोग नपाउने निश्चित जस्तै भएपछि ओलीसँग अब निर्णायक वार्ता थालेको बुझ्न कठिन छैन ।

यसका लागि सत्ता सहकार्यको प्रस्ताव देउवाले गरेको बालुवाटार स्रोतको भनाइ छ । एमाले अध्यक्ष ओलीले आफ्ना मुद्दामा देउवा राजी भए एमसीसी पारित गर्न सहयोग गर्ने तर सरकारमा सहभागि नहुने विषय अघि सारेका छन् । आफु सरकारमा नगए पनि सरकार ढल्ने अवस्था आउन नदिने भन्दै ओलीले देउवालाई आश्वस्त पार्ने काम गरेका छन् ।

उनले प्रचण्ड–माधवलाई सत्ताबाट हटाए आफुले सहयोग गर्ने शर्त अघि बढाएका हुन् । तर प्रदेश सरकारमा भने ओली–देउवाबीच बाँडफाँड हुन सक्ने बुझिएको छ ।केही दिन अघि पनि प्रधानमन्त्री देउवा बालकोट गएका बेला ओली गठबन्धन फुटाएर आउन आग्रह गरेका थिए । अहिले प्रचण्डको भूमिकालाई लिएर आलोचना गरिरहेका ओलीले उनीहरुलाई सत्ताबाटै निकाल्ने तयारीका साथ देउवासँग निर्णायक भेटवार्ता अघि बढाएका छन् । नेपाली काँग्रेसले समेत अब प्रचण्ड–माधवलाई बोक्नु आफैँलाई भारी हुने महसुस गरेको छ । काँग्रेस महामन्त्री गगन थापाले आजमात्रै एमसीसीमा मतदान नगर्ने भए प्रचण्ड–माधवलाई सरकार छाड्न चुनौती दिएका थिए ।