राजनीति

प्रधानमन्त्रीले भने : एमसीसी पास गर्न सघाउनुस्


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहोर्‍याएका थिए ।

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरको कारवाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै २३ भदौदेखि संसद अवरोध गर्दै आएको छ । सरकारले आइतबार प्रतिनिधिसभ बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्दा पनि एमाले सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहे । नियमित प्रक्रयामै भाग लिएनन् ।

संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ । त्यो बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल थाल्ने र केही दिनमा अनुमोदन गर्ने सरकारी तयारी छ । तर सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षामा छन् ।