राजनीति

महाशिवरात्रीमा १० लाख दर्शनार्थी पशुपति आउने अनुमान (भिडियोसहित)


काठमाडौँ – काठमाडौको पशुपति मन्दिर परिसरमा हुने हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व शिवरात्रीको तयारी सुरु भएको छ । आगामी फाल्गुन १७ गत परेकोे यो पर्वका लागि दर्शनार्थीलाई सहज, सुरक्षित र छिटो दर्शन गराउने व्यवस्था मिलाउनको लागि पशुपति क्षेत्र विकास कोषले तयारी सुरु गरेको हो ।

यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । सो दिन पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरु आउने गर्दछन् । महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अनुसार दर्शनका लागि पंक्तिमा बसेका बिरामीलाई लक्ष्य गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ । यस वर्ष शिवरात्रीका दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले यस वर्षको महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनैपनि कसर बाँकी नराख्न आग्रह गरे । धर्मावलम्बीहरुलाई सहज रुपमा पानीको व्यवस्था, बत्तिको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए ।

यस वर्षको महाशिवरात्रि मेलामा आउने दर्शनार्थीहरुको लागि १० हजार सुरक्षाकर्मी परिचालन गरिने छ । कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पाशुपत क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।