राजनीति

पोखरामा परेको बेमौसमी भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति (भिडियोसहित)


काठमाडौँ – गत आईतवार पोखरामा परेको बेमौसमी भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । असिनाका कारण तरकारी बाली र नगदे बाली नस्ट भएका छन् । दर्जनौ चौपाय पनि मरेका छन् तर पडितले अझै राहात पाएका छनैन् ।

पर्यटकीय नगरी पोखरामा गत आईतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही जनावर मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् । पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको छ । असिनाका कारण सो वडाहरुमा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको छ ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएको उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

उता, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्ण रुपमा क्षति भइ २० लाख बराबरको क्षति पुगेको गुरुङले बताए । असिनाको भारका कारण टनेल भाँचिएको थियो । यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए ।पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।।