राजनीति

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक बस्दै


काठमाडौँ — प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ । राजधानी मात्रै टुंगो लागेको प्रदेश १ मा पहिलो पटक पाँच दलीय गठबन्धनले नामकरणको विषयमा छलफलफका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सहित गठन्धनका दलहरु सहभागी हुने प्रदेश नामकरणका लागि सहजीकरण तथा समन्वयको जिम्मेवारी पाएका स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, दलका प्रदेश कमिटीका अध्यक्ष तथा सभापतिहरु र सरकारका सबै मन्त्रीहरूले सहभागी हुनेछन् ।

बैठक मंगलवार मध्याह्न सवा १२ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने मन्त्री यादलले जानकारी दिए । सात प्रदेशमध्ये ६ वटाको नामकरण भएपछि प्रदेश १ सरकारलाई पनि नामकरण गर्न दवाव परेको छ । संविधानमा प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले टुंगो लगाउने व्यवस्था छ ।

सरकार गठन भएको चार वर्ष बितिसक्दा तीन मुख्यमन्त्री पाएको प्रदेश १ ले २०७६ वैशाख २३ मा प्रदेश १ ले राजधानी तोकेको थियो। निवर्तमान मुख्यमन्त्री शेरधन राई र भीम आचार्यले नामकरणको विषय प्राथमिकतामा रहेको बताए पनि त्यसलाई संसद बैठकमा छलफ गर्न भने सकेनन्।

गत कात्तिक १६ मा मुख्यमन्त्रीका रूपमा राजेन्द्र राईले शपथ ग्रहणदेखि लिएर विभिन्न कार्यक्रममा प्रदेशको नामकरण नै पहिलो प्राथमिकतामा रहेको बताउँदै आइरहेका छन् । उनले अबको अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने समेत प्रतिवद्धता जनाउँदै आएका छन् ।

प्रदेश १ को सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेका छन् ।