राजनीति

एमसीसीको पक्षमा बहुमत पुर्याउने गृहकार्यमा प्रधानमन्त्री, अंकगणितको जोड–घटाउमा दलहरू


काठमाडौँ – संसद्मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पु¥याउने गृहकार्यमा जुट्नु भएको छ । गठबन्धन दलका सांसद् र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुट्नुभएको हो ।

विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन हुने भन्दै प्रधानमन्त्री संसदीय अंकगणितको जोड–घटाउमा लाग्नुभएको नेताहरुले बताएका छन् । पक्षमा नखुले पनि संसद्को ठूलो दल एमालेले विपक्षमा मतदान नगर्ने प्रधानमन्त्रीको बुझाइ छ ।

एमालेले मतदान प्रक्रिया बहिष्कार गर्ने अनुमान देउवाको छ । एमालेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमालेले सभामुख अग्नि सापकोटाको विरोध गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । संसदमा हाल कायम सांसद संख्या २ सय ७१ छ ।

एमालेका ९७, कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २४, जनता समाजवादीका २०, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १२, जनमोर्चा, नेमकिपा र राप्रपाका एक–एक सांसद छन् । एमसीसी सम्झौता अनुमोदन हुन एक चौथाइभन्दा बढी सांसदको उपस्थितिमा बहुमत पुग्नुपर्छ ।