राजनीति

एमसीसी संसदमा पेस : माओवादीको लिखित असहमति, काँग्रेसबाहेक सबै विरोधमा (भिडियोसहित)


काठमाडौँ — सांसद्हरुको नाराबाजीका बीच आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता पेश भएको छ । दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा एमसीसी टेबल भएको हो । संझौता सदनमा पेस भएसँगै राजीतिक दलहरु दुई धुब्रमा देखिएका छन् ।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्ने सांसदहरुले एमसीसी सम्झौता संसदमा पेश हुनु नहुने धारणा राखेका हुन् । सांसदहरुले एमसीसी सम्झौतामा राष्ट्रहित विरोधी प्रावधानहरु भएकाले संसदमा पेश गर्नु नहुने बताएका हुन् । बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को संसद अवरोध कायम रहुञ्जेल संसदमा महत्वपूर्ण एजेण्डामाथि छलफल हुन नसक्ने बताए । उनले एमसीसी सम्झौतामा राष्ट्रिय स्वाधिनतालाई प्रतिकुल पार्ने प्रावधान भएकाले संशोधन बिना प्रक्रिया अगाडी बढाउनु नहुने बताए । सन्धी ऐन, संविधानको व्यवस्था अनुसार पनि सम्झौता संसदमा पेश गर्न नमिल्ने उनको भनाई छ । उनले माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा पेश गर्ने प्रक्रियामा असहमती राखेको पनि बताए ।

नेकपा(एमाले)का सांसद भीम रावलले एमसीसी सम्झौता संसदमा पेश हुनु नेपाली जनता र संसदको अपमान हुनु भएको बताए । प्रतिपक्ष दलले संसद अवरोध गरिरहेको र सत्तारुढ दलहरुका बीचमा समेत सहमती नजुटेको अवस्थामा पेश हुनु आपत्तिजनक भएको उनले उल्लेख गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी अधिकारीहरुको धम्कीका कारण सभामा एमसीसी पेश हुन लागेको बताए । एमसीसी परियोजना सहायता नभई अमेरिकी लगानी भएको उनले दाबी गरे । उनले नेपाली कांग्रेसले सम्झौता पारित गराउन लागेको भन्दै आपत्ति प्रकट गरे ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता संसदमा पेश गर्नु नहुने बताइन् । अन्य विदेशी सहयोगहरु संसदबाट पारित गर्ने प्रचलन नभएको भन्दै उनले एमसीसी पनि संसदबाट पारित गर्नु आवश्यक नभएको बताइन् ।

प्रमुख प्रतिपक्ष नेकपा(एमाले)को अवरोध र सांसदहरुको बिरोधका बिच आइतवारको प्रतिनिधि सभा बैठकमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता सभामा पेश गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।