राजनीति

सरकार छाड्न माग गर्नेलाई केही दिन पर्खिन प्रचण्डको आग्रह


काठमाडौँ — अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन पर्खिन आग्रह गरेका छन् ।

आइतबार चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको थियो । तर संसदको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक देव गुरुङ, जयपुरी घर्ती र रेखा शर्माले फरक मत राखे । संसद बैठकमा पनि गुरुङले एमसीसीको विरोध गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि टेबल गर्दा माओवादी केन्द्रका केही सांसदले उठेर विरोध गरे भने प्रचण्डसहित केही नेताहरु बसिरहे ।

संसदको बैठकलगत्तै माओवादी प्रमुख सचेतक देव गुरुङलगायतले बैठक हलमै प्रचण्डसँग कुरा गर्न खोजेका थिए । संसद भवन परिसरमा भएको भेटमा सांसदहरुले संसदीय दलको निर्णयअनुसार तत्काल सरकार छाड्नुपर्ने बताएका छन् ।