विदेश

रुसले युद्ध भड्काउन चाहेको युक्रेनी राष्ट्रपतिको आरोप


काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर रुसले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् ।

पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि रुसको समर्थन पाएका बिद्रोही समूहले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ५० हजार भन्दा बढी सैनिक तैनाथ गरेको छ ।

यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले विश्वका नेताहरुलाई रुसी आक्रोस वा आक्रमणको सामना युक्रेन आफैले गर्ने पनि बताएका छन् । रुसको साथ पाएका बिद्रोही र युक्रेनी सेनाबीच पूर्वी क्षेत्रमा विगत तीन दिनदेखि भिडन्त भइरहेको छ ।

अहिलेसम्म दुई युक्रेनी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।