राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु


काठमाडौँ – सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संसद्मा विचाराधीन एमसीसी प्रस्ताव टेबल गर्नका लागि सहमति जुटाउने प्रयास स्वरुप सत्ता गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।

एमसीसीका बारेमा सत्तारुढ पाँच दलीय गठबन्धनमा फरक फरक धारणा रहेको छ । काँग्रेस जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र संशोधन बिना एमसीसी टेबल हुन नसक्ने पक्षमा रहेको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टी टेबल गर्न दिने तर पारित गर्न नसघाउने पक्षमा हुँदा जसपामा पनि दुई धार रहेको छ। यस्तै राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा रहेको छ ।