राजनीति

एमसीसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

एमसीसी सम्झौताका बारेमा गठबन्धनमा रहेका दलहरुबीच एकमत हुन नसकेपछि पटक–पटक बसेका बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्न लागेको हो ।

एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र सरकारबाट बाहिरिन तयार रहेको निर्णय गरेको छ भने नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी अनुमोदनमा सहमति नजनाउने तर संसदमा टेबुल गरेर छलफल गर्न भने विरोध नगर्ने निष्कर्ष निकालेको छ । जसपाले ठोस निर्णय लिन सकेको छैन ।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सुरु देखि नै एमसिसी पास गर्नुपर्ने पक्षमा उभिनुभएको छ । सत्ता गठबन्धनको राष्ट्रिय जनमोर्चा भने एमसिसीको विरोधमा सडक आन्दोलनमा रहेको छ ।