राजनीति

राजसंस्था त्याग्दै गणतन्त्रवादी बने कमल थापा,लिङ्देनलाई कडा चेतावनी


काठमाडौँ – राप्रपाका पूर्व अध्यक्ष कमल थापाले रोजाई, भोगाई र रजाइ आफू अनुकुल भए नमिलेपछि नयाँ पार्टी घोषणा गरेका छन् । तर थापाको नयाँ राजनीतिक सुरुवातसमेत चुनौतीमै रहने निश्चित छ ।
गितामा छोएर पार्टी नफुटाउने कसम खाएका कमल थापाले राप्रपाको अध्यक्षमा पराजित भएको तीन महिना वित्न नपाउँदै फरक पार्टी घोषणा गरे । कसम पनि थापाको चरित्र देखेर लजाइरहेका बेला राजतन्त्र त्यागेर गणतन्त्रवादी बनेका थापा देखेर जग पनि लजाउने कि खुशाउने दोधारमा परेको छ ।

विगतमा कमल थापालाई राजसंस्थाले बोक्यो । थापाले पनि राजसंस्थाकै मुद्धा बोके । चुनावदेखि पार्टी चलाउने खर्चसमेत राजसंस्थाले ब्यहोर्दै आएको थियो । जब राजसंस्था विदा हुनुको एक कारण नै थापा बने त्यसपछि थापा र दरबारबीच दरार सुरु भयो ।

अहिले १५ वर्ष आफैले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिए लगत्तै राप्रपा नेपालको घोषणा गरेका थापाले राजसंस्थाको मुद्धाबाट पनि अलग्गिएको घोषणा गरेका छन् । अब उनीसँग हिन्दुराष्ट्रको मुद्धामात्रै बाँकी रहेको छ ।

थापाले फरक पार्टीको घोषणा गरेपनि राप्रपासँगै उनको प्रतिस्पर्धा हुनेछ । र मुख्य प्रतिद्वन्द्वी थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बनाउने छन् । किनकि थापाको बहिर्गमनलाई लिङ्देनले सामान्य रुपमा हेरेपनि राप्रपाभित्रको थापा निकट पंक्तिले उनलाई दबाबमा राख्नेछ । मत बाँझिए थापाको कित्तामा जाने विकल्प पनि छ । तर लिङ्देनले अभियन्ता ज्ञानेन्द्र शाहीको टीमलाई भित्र्याएर थापाको भरपाई गर्न खोजेका छन् ।

युवा जमातको आकर्षण बोकेर आएका लिङ्देन जनतामाझ लोकप्रिय नै रहेको भएपनि उनको एजेन्डालाई मतदानमार्फत अनुमोदन गर्न चुनौती देखिन्छ । यता राजसंस्था फर्किनेमा पूर्वराजा स्वंयम् नै आशावादी नरहेका बेला हिन्दुराष्ट्रको मुद्धाले जनमत बटुल्न सक्ने आँकलन गरेरै थापाले नयाँ बीजारोपण गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग नजिक भएकै कारण दरबारले चुनाव हराएको विश्लेषण गरिएका बेला थापाले आगामी निर्वाचनमा ओलीसँग तालमेल गर्नेसम्मको तयारी गरेका छन् ।

लिङ्देनको पार्टी पनि साझा विवेकशील पार्टीसँग एकता गर्नेसम्मको तयारीमा छ । उनीहरुबीच संघीयता र धर्ममा मत मिलेपनि राजसंस्था पुनःस्थापनाको मुद्धामा निर्णय आइसकेको छैन ।

यद्यपि राजनीतिक एजेण्डा भन्दा बाहिर गएर आफ्नो स्वार्थको लागि जे पनि गर्ने चरित्रले थापाको नयाँ राजनीतिक सुरुवातलाई समेत दबावमा राख्नेमात्रै छैन, एजेण्डालाई रुचाएर मत दिनेहरु उनको प्रवृति र व्यवहारबाट खिन्न बन्ने हुन् कि भन्ने संशय कायम छ ।