राजनीति

संसारभरका ज्योतिषलाई एक ठाउँमा राखेर सोधे पनि गठबन्धन एक वर्षभन्दा बढी टिक्दैन: ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले पाँच दलीय सत्तारुढ गठबन्धनका बढीमा एक वर्ष टिक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै ओलीले संसारभरका ज्योतिषलाई एक ठाउँमा राखेर सोधे पनि गठबन्धन एक वर्षभन्दा बढी नटिक्ने टिप्पणी गरेका हुन् ।

साथै, ओलीले गठबन्धनलाई पानी मुनी भएपनि ठेगान लगाउने चेतावनी दिएका छन् । एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए ।

रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै उनले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।’