राजनीति

उपराष्ट्रपति पुनको शुभकामना सन्देश : विकास र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा मिलोस्


काठमाडौँ — उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र दिवसले भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले प्रजातन्त्र स्थापना त्यसपछिका विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त राजनीतिक उपब्धिलाई संविधानले संस्थागत गरिसकेको भन्दै उनले यी उपलब्धिको संरक्षण र रक्षामा सबैले जोड दिनुपर्ने बताएका छन् ।

शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायतका राजनीतिक उपब्धिलाई संविधानले संस्थागत गरिसकेको छ । यी उपलब्धीको संरक्षण र रक्षामा हामी सबैले जोड दिनुपर्दछ ।’

ऐतिहासिक जनआन्दोलनमार्फत् सार्वभौम नेपाली जनताले निरंकश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिनको रुपमा यस दिवसलाई लिइएको स्मरण गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र प्राप्तीका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुती दिने वीर वीरंगनाप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।